
उदयपुर, बैशाख २ । उदयपुरगढीमा खाने पानीको अभाव कायमै छ ।
वि.स. २०५२ सालदेखि खानेपानीको साना–मझौला आयोजना संचालन भए पनि पानीको समस्या समाधान हुन सकेको छैन ।
२०७२ सालमा खानेपानी तथा सरसफाइ डिभिजनबाट सञ्चालित आयोजना २०७७ सालमा सम्पन्न हुने संझौतामा लेखिए पनि ५ बर्ष बित्दासमेत २० प्रतिशत काम पनि हुन सकेको छैन ।
उदयपुर गढीमा पानी आपुर्तिका लागि २२ किलोमिटर माथि भेडीखोरमा मुहानबाट ३ करोड ६९ लाखको लागतमा योजना सञ्चालनमा आएको हो ।
५ वर्षमा ५० हजार लिटर पानी अट्ने ट्याङ्की र १० लाख रुपैयाँको पाइप खरिदबाहेक केही काम हुन नसक्दा आयोजना सम्पन्न हुनेमा शंका रहेको स्थानीय पुष्कर भण्डारीले बताउनुभयो ।
तत्कालीन पंचावती र डुम्रे गाविसका करिब १ सय ६५ घर परिवारका लागि १ घर १ धारा कार्यक्रम सम्पन्न नहुँदा पिउने पानीकै कारण थात थलो छोड्ने क्रम बढेको स्थानीय बताउँछन् ।
यस्तै आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने उदयपुरगढीमा पानीकै अभावमा पाहुना राख्न नसकिएको यहाँका होटल व्यवसायी बताउँछन् ।
२ सय बर्ष पुरानो ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकासमा पिउने पानीको अभाव नै बाधक बनेको छ ।
प्रतिक्रिया दिनुहोस्