
चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ ।
चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै दाहालले कर्णालीबाट शुरु भएको ओलीको हार अब केन्द्रमा पनि आइपुग्ने दावी गर्नुभएको हो ।
कर्णाली प्रदेश सरकार गिराउने ओलीको प्रयास निरस्त्र पारिएको भन्दै दाहालले भन्नुभयो, ‘अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि हार व्योहोर्दै छन् । ती प्रदेशमा भन्दा पहिले संघमा हार्न पनि सक्छन् । प्रतिगमन धेरै दिन टिक्दैन ।’
ओलीलाई प्रधानमन्त्री आफैले बनाएको जिकीर गर्दै दाहालले धोका दिने ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने दाबी गर्नुभयो ।
चितवनको माडीस्थित अयोध्यापुरीमा प्रधानमन्त्री ओलीले बनाउन लगाएको राम–सीता मन्दिरको अवलोकन गर्दै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्टले धर्म मान्दैनन् भन्ने प्रचार गलत भएको टिप्पणी गर्नुभयो ।
माडीमा राम जन्मभूमिलाई आधिकारिकरुपमा ल्याउन सक्दा सबैभन्दा बढी खुशी आफू हुने भन्दै उहाँले अयोध्याधामको विषय गम्भीर भएकाले संवेदनशील कुरामा सस्तो लोकप्रियतामा नलाग्न प्रधानमन्त्री ओलीलाई सचेत पनि गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्