
चितवन, बैशाख ५ । माडीको अयोध्यापुरीमा राखिने भगवान राम, सीता, लक्ष्मण र हनुमानको मुर्ति यही बैशाख ७ गते काठमाडौंबाट चितवन ल्याइने भएको छ ।
काठमाडौं राम मन्दिरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्ति हस्तान्तरण गरेपछि रथसहितको कलशयात्रा गर्दै करिव पाँच सय सवारी साधनको शोभायात्रा गरि चितवन ल्याइने भएको हो ।
अयोध्या धाम व्यवस्थापन समितिले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरि मुर्ति ल्याउने कार्यक्रमबारे जानकारी दिएको हो ।
आठ गते विहान पीठाधीसहरुको उपस्थितिमा परशुराम कुण्डको पवित्र जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।
मुर्तिहरुलाई अस्थायी रुपमा राख्न अहिले मन्दिर निर्माणको काम तिव्र पारिएको छ ।
तयारी पुरा भएको र माडीमा ९ सय सवारी र ४ हजार भक्तजनहरुलाई खान बस्नको प्रवन्धसमेत गरिएको समितिले जनाएको छ ।
अहिले अस्थायी रुपमा राखिएको मुर्तिहरु राममन्दिर निर्माणपछि स्थायीरुपमा प्राण प्रतिष्ठा गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्