
काठमाडौं, बैशाख ७ । बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तीमा एक साताको लकडाउन गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले एक दिनमा तीन सयभन्दा बढी संक्रमित भेटिन थालेपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न क्षेत्रहरु अतिनै धेरै जोखिममा परिसकेकोले अब लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताउनुभयो ।
बैशाख ९ गते विहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी लकडाउन गरिने निर्णय गरेर डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।
बाँकेका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड समेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
पछिल्लो समयमा केही दिन यता आएर बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ ।
पहिलो पटक बाँकेमा एकैदिन ३ सय २२ जना कोरोना संक्रमित भेटिएका छन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना सङ्क्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।
प्रतिक्रिया दिनुहोस्