
नवलपरासी, बैशाख ८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जितपुरमा ७० भन्दा बढी गिद्धहरु मरेका छन् ।
विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धहरु यति धेरै संख्यामा एकैपटक मरेको जिल्लामा यो पहिलो पटक हो ।
गिद्ध कसरी मरे भन्नेबारे खुल्न सकेको छैन ।
गाउँको पोखरीनजिक खेतहरुमा छरिएका मृत गिद्धहरुको व्यवस्थापन हुन नसक्दा दुर्गन्धसमेत फैलिन थालेको छ ।
मंगलबार बिहान गिद्धहरु मरेको अवस्थामा देखेको स्थानीयले बताएका छन् ।
गिद्धहरु रहेको स्थाननजिक दुईवटा कुकुर मरेको अवस्थामा भेटिएका छन् ।
डोरीले बाँधेर फालिएका कुकुरहरुलाई विष खुवाएर मारेको हुनसक्ने र त्यही कुकुरको मासु खाएका कारण गिद्धहरु मरेको हुनसक्ने आंशका स्थानीयको छ ।
गिद्धहरु कसरी मरे भन्नेबारे अनुसन्धान गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीमा नमूना पठाइएको पशु विकास शाखा रामग्राम नगरपालिकाका डा. निरज पासवानले बताउनुभयो ।
दुर्गन्ध फैलिन नदिन नगरपालिकाले गिद्धहरुलाई खाल्डोमा पुर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्