
काठमाडौं, बैशाख १० । बजारमा खाने तेलको मूल्य फेरि बढेको छ ।
गत कात्तिकमा खाने तेलको मूल्य बढाउँदा केही व्यवसायीहरु कारवाहीमा परेका थिए ।
अहिले सरकारी नियामक निकायकै मिलेमतोमा मूल्य बढाइएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।
अहिले खाने तेलको मूल्य प्रतिलिटर १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले वृद्धि भएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा गुणस्तर र कम्पनी हेरेर खाने तेलको मूल्यमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले मूल्य बढेको हो ।
ब्रान्ड हेरेर तोरीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ ।
त्यस्तै सनफ्लावर तेल १५ देखि २० रुपैयाँले बढेको छ भने भट्मासको तेलमा प्रतिलिटर १५ रूपैयाँले वृद्धि भएकोे छ ।
बढेको मूल्यअनुसार अहिले बजारमा तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपैयाँसम्म, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र भटमासको तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँसम्म पुगेको छ ।
यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मासको तेल २१० रुपैयाँमै कारोबार भइरहेको थियो ।
बजारमा मनलाग्दी तबरले खाने तेलको मूल्य बढ्दा पनि सरकारी पक्षबाट अनुगमन भएको छैन् ।
प्रतिक्रिया दिनुहोस्