
पोखरा, बैशाख १२ । गण्डकी प्रदेश सभा विशेष अधिवेशन सोमबार सुरु हुँदैछ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएपछि विपक्षी दलले मागे अनुसार प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।
विशेष अधिवशेनको पहिलो बैठकका लागि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।
उक्त बैठकमा पहिलो दिन नै अविश्वासको प्रस्ताव उपर मतदान हुने बारेमा छलफल भए पनि बैठक केही दिन लम्बिने भएको छ ।
पहिलो दिन सबै दलका नेताहरुले बोलिसकेपछि मुख्यमन्त्रीले जवाफ दिनेछन् ।
भोलिपल्ट पनि छलफल हुने र तेस्रो दिन मतदानमा जाने गरी कार्यसूची तय गर्ने सहमति भएको बैठकमा सहभागी जनमोर्चाका सांसद कृष्ण थापाले बताउनुभयो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाको बैटक बसेर अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सहमती भएको छ ।
जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पक्का भएपछि गुरुङ सरकार ढल्ने लगभग पक्का भएको छ ।
तै पनि सरकार टिकाउनका लागि आन्तरिक खेल भने भइरहेका छन् । अविश्वासको प्रस्तावसँगै ३ दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेका छन् ।
अविश्वासको प्रस्ताव पारित भएमा कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुनेछन् ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् ।
कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्