१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूकम्प गएको ६ वर्षपूरा, पुनर्निर्माणमा उल्लेख्य प्रगति


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं, बैशाख १२ । गोरखाको बारपाकमा केन्द्र विन्दू भएर गएको विनासकारी भूकम्प आज ६ वर्ष पूरा भएको छ ।

भूकम्पले गराएको जनधनको क्षतिको पूर्ति कहिल्यै नहुने भए पनि यस बीचमा पुनर्निर्माणको काममा भने उल्लेख्य प्रगति भएको छ ।

२०७२ साल वैशाख १२ गते नेपालीका लागि ठुलो कष्टको दिन ! मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प गएको पनि ६ वर्ष पूरा भएको छ ।

उक्त भूकम्पबाट आठ हजार ९७९ जनाको निधन भयो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।

भूकम्पको त्रासदी ब्यहोरेका अधिकांश नेपाली उक्त दिन सम्झन पनि चाहँदैनन ।

भूकम्पले करिब १० लाख निजी आवास, ७ हजार ५५३ विद्यालय, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो ।

३ हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क राष्ट्रिय पुनः निर्माण प्राधिकरणसँग छ ।

भूकम्प गएको ६ वर्ष वितिसक्दा पनि पुनर्निर्माणको काम भने अझै सकिएको छैन । पुनर्निर्माण प्राधिकरण गठनमा भएको ढिलाईदेखि प्राधिकरणमा भइरहेको नेतृत्व परिवर्तन तथा भारतले लगाएको नाकाबन्दीलगायतले पुनर्निर्माणको काम प्रभावित भएको प्राधिकराणका प्रवक्ता भगवान अर्यालको तर्क छ ।

काम थालेको ६४ महिनामा पुनर्निर्माण र पुनःस्थापनाको काम सन्तोषजनक भएको प्राधिकरणको दाबी छ । निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भए पनि ग्रामिण बस्तिमा मौलिकता मासेर कंक्रिटलाई बढी महत्व दिइएको छ ।

यस्तै ९ सय २० सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सकिएको छ भने २८८ वटा पुनर्निर्माण भइरहेका छन् ।

रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको भने धरहराको पुनर्निर्माण पनि सकिने बाटोमा छ ।

सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको रेट्रोफिकेसन सकिएको छ भने केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी परिसमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरुको जीर्णोद्धार जारी छ ।

यस्तै वृहत्तर टुँडिखेल, नारायणहिटी, गोरखा र नुवाकोट दरबार क्षेत्र तथा उपत्यकाका सातवटै पुरातात्विक सम्पदाहरुको गुरुयोजना स्वीकृतिको चरणमा रहेको प्रधिकरणले जनाएको छ ।

मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भइसकेका छन् ।

क्षतिग्रस्त ७ हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने भने १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेका छन् ।

त्यस्तै, १,१९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २९६ को पुनर्निर्माण जारी छ ।

यस्तै, कुल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै ७६२ कि.मी. सडक पुनर्निर्माण गर्नुपर्नेमा ५२५ कि.मी. पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी काम यही आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिको छ ।

२०७७ चैत्र मसान्तसम्म सरकार तथा दातृनिकायहरुको समेत गरी ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ ।

दाता सम्मेलनमा व्यक्त भएको ४ सय १० अर्ब रुपैयाँमध्ये करीब ५० प्रतिशत रकम प्राप्त भएर राहत, उद्दार तथा पुनर्निर्माणमा खर्च भएको र बाँकी रकम प्राप्त हुने क्रममा रहेको पनि प्राधिकरणले जनाएको छ ।

पञ्च वर्षिय योजना अन्तर्गत करीब ५ खर्ब रुपैयाँ लगाएर पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य ढिलै भए पछि पूरा हुने संभावना बढेको छ ।