
काठमाडौं, बैशाख १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सो प्रस्ताव प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।
सोमबार प्रदेशसभाको बैठक सुरु हुनासाथ पोखरेलले उक्त प्रस्ताव पेश गर्नुभएको हो ।
प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा यी तीन पार्टीका २८ सांसदले हस्ताक्षर गरेका छन् । राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा समर्थन गर्ने जनाएको छ ।
६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको मत आवश्यक पर्छ ।
प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद रहेका छन् ।
प्रस्तावमा पोखरेललाई नयाँ मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि मुख्यमन्त्री गुरुङले यही वैशाख २ गते राति प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्