१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमितको उपचारका लागि सरकारले ७ हजार शैया थप्दै


0
Shares

काठमाडौं, बैशाख १९ । सरकारले कोरोना (कोभिड–१९) को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शैया थप गर्ने भएको छ ।

तीमध्ये काठमाडौं उपत्यकाका ६ अस्पतालमा आजैदेखि १ हजार शैया थप गरी सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप ७ हजार शय्या थप्न थालिएको जानकारी दिनुभयो ।

शय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुनेछ ।

केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ ।

उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो ।

उहाँका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय–सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०–१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो ।

सहप्रवक्ता डा. अधिकारीले काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००–४०० दरका एक हजार २०० शय्या चाँडै बन्ने बताउनुभयो ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००– ५०० र जनमैत्री अस्पतालमा १२० शय्या बन्नेछन् ।

उहाँले सम्झौतानुसार निजी अस्पतालले २ हजार शय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शय्या छन् ।