
प्रज्ञा तिमल्सिना
काठमाडौं, बैशाख २२ । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिदै गर्दा उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको अभाव देखिएकोे छ ।
देशभर ६ हजार चिकित्सक र १० हजार नर्स आवश्यक पर्नेमा अहिले एक हजार ४ सय चिकित्सक मात्रै रहेका छन् ।
चिकित्सक र स्वास्थ्यकर्मीको अभाव टार्न स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई ५ महिने करार भर्नाका लागि निर्देशन दिएपछि अस्पतालहरुले धमाधम करारको सूचना निकाल्न थालेका छन् ।
स्वास्थ्य तर्फको ८ औँ तहमा ४ बर्ष देखि १ जना पनि जनशक्ति थप भएका छैनन् । मन्त्रालयले मेडिकल अफिसर पदमा ४ बर्ष देखि लोकसेवा मार्फत जनशक्ति लिएको छैन् ।
कोरोना संक्रमण देखिएको १ बर्षको अवधिमा मन्त्रालयले जनशक्ति बढाउन कुनै पहल नै गरेन ।
जसका कारण हाल उपचार गराउन सबै अस्पताललाई हम्मेहम्मे परेको छ ।
जनशक्तिको अभाव देखिए पछि प्रधामन्त्री केपी शर्माले सोमवार राष्ट्रको नाममा सम्बोधन गर्दा अवकाश प्राप्त चिकित्सकलाई १ बर्षका लागि करारमा नियुक्त गरिने बताउनुभयो ।
उपचारमा चिकित्सकको अभाव हुन थाले पछि हाल धमाधम अस्पतालहरुले करारमा चिकित्सक राख्न सूचना निकाल्न थालेका छन् ।
संक्रमितको संख्या थाम्नै नसक्ने गरी उकालो लाग्दै गर्दा हाल अस्पतालहरुलाई जनशक्तिको निकै अभाव छ ।
काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले समेत ८ जना मेडिकल अफिसर मागेको छ ।
यस्तै किर्तिपुर स्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, जिल्ला अस्पताल संखुवासभा, दार्चुला अस्पताल र वैतडी अस्पतालले यस्तो सूचना निकालेका छन् ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका अस्पतालका लागि कन्सल्टेन्ट एनेथेसीयोलोजीस्ट ९ जना र कन्सल्टेन्ट जनलर फिजिसियन १२ जना मागेको छ ।
सेती प्रादेशिक अस्पतालले करारमा मेडिकल अफिसर पदमा चिकित्सक नआए पनि अवकाश प्राप्त चिकित्सक राख्न सूचना निकालेको छ ।
इलाम अस्पतालमा १ जना दरवन्दिका चिकित्सक र वाँकी करारका चिकित्सकले नै अस्पताल धानिरहेका छन् ।
हाल देशका अधिंकाश अस्पतालले करारमा चिकित्सक मागेका छन् ।
गत बर्ष पनि महामारीको समयमा अस्पतालहरुले करारमा नै चिकित्सक राखेका थिए । तर करार सेवामा निकै कम मात्र चिकित्सकहरु आउने गरेको अस्पतालहरुको गुनासो छ ।
स्वास्थ्य मन्त्रालय आफैले दक्ष जनशक्ति नहुदा भएका भेन्टिलेटर र आइसियू वेड चलाउन समस्या भएको जनाएको छ ।
१ बर्षको अवधिमा स्वास्थ्य मन्त्रालयले १ जना पनि जनशक्ति नथपेको विषयमा सामाजिक सञ्जालमा समेत निकै विरोध भईरहेको छ ।
समाजिक सञ्जाल मार्फत कांग्रेस नेता गगन थापाले पीजीको तयारी गरिरहेका झन्डै ५ हजार जनशक्तिलाई महामारी नियन्त्रणमा प्रयोग गराउन सुझाव दिनुभएको छ ।
पीजीको परीक्षा केही महिना पछि सारेर उनिहरुलाई महामारीमा प्रयोग गर्न सकिने भन्दै उहाँले कार्य अनुभवको अकं दिने गरी व्यवस्था गर्न पनि सुझाव दिनुभएको छ ।
कोरोनाको दोस्रो लहर आउन सक्ने आंकलन गरेर बसिरहेको स्वास्थ्य मन्त्रालय जनशक्ति थप गर्नेतर्फ गम्भिर नहुदा जनधनको ठुलो क्षती हुने अवस्था सिर्जना भएको छ ।
प्रतिक्रिया दिनुहोस्