
काठमाडौं, बैशाख २२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।
एसियाली विकास बैंकको ५४ औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै उहाँले आशातित रुपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड–१९ को दोस्रो लहरबाट उत्पादन, पर्यटनलगायत अन्य सेवाहरुमा गम्भिर असर पुगेको बताउनुभयो ।
कोभिड–१९को विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा ब्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको उहाँको भनाइ थियो ।
अर्थमन्त्री पौडेलले महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाईरहेको उल्लेख गर्दै जीवन र जनजीविका बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएकोमा जोड दिनुभयो ।
अर्थमन्त्री पौडेलले खोपको आपूर्तिमा सबै मुलकको सहज पहुँच र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्नु अपरिहार्य भएको पनि बताउनुभयो ।
कोभिड–१९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शीघ्र सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा व्यक्त गर्नुभयो ।
सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तरआवद्धताको माध्यमबाट क्षेत्रीय सम्वृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै उहांले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्