७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


केपी ओली र म बीच कुनै असमझदारी छैन–पुष्पकमल दाहाल


0
Shares

पाँचथर, कात्तिक ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका क्रममा भएका सहमति कतैबाट पनि नतोडेको बताएका छन् ।

यसअघि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफुसँग गरेको सहमति पालना नभएको भन्दै गुनासो गर्दै हिँडेका दाहालले फेरि ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौं’ भनेका हुन् ।

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पाँचथर पुगेका दाहालले मंगलबार भने, ‘कसैले पनि सहमति तोडेको छैन’ । उनले थप भने, ‘पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो अवस्थासम्म आइपुग्ने थिएन ।’ 

अर्का अध्यक्ष ओली र आफुबीचको सहमति कार्यान्वयन नभएको भन्दै सञ्चारमाध्यममा आएका खबर भ्रममात्रै भएकाले होहल्ला र प्रचारबाजीको भर नपर्न उनले कार्यकर्तालाई आग्रह गरे ।

आफुहरु दुई जनाबीच सहमतिमै सबै कुरा अगाडि बढिरहेको भन्दै उनले आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको उल्लेख गरे ।

सञ्चारमाध्यममा आएका कुरामा असमझदारी नहोस् भन्नकै लागि सोमबार प्रधानमन्त्रीसँग दुई घण्टा कुुराकानी भएको जानकारी दिँदै दाहालले वातावरण सकारात्मक रहेको र सहमति छिट्टै कार्यान्वयन हुने पनि बताए ।

दुई नेताबीचको घोचपेच सार्वजनिक रुपमै सञ्चारमाध्यमहरुमा छताछुल्ल भएको थियो । दाहालको असन्तुष्टिप्रति प्रधानमन्त्री ओलीले आफ्ना पछिल्ला अन्तर्वार्ताहरुमा टिप्पणी गरेका थिए ।

दाहालले शान्ति प्रकृयाका बाँकी काम चाँडै टुङग्याउन प्रमुख राजनीतिक दलहरु तयार भएकाले प्रक्रिया चाडै टुङ्गिने पनि बताए ।

दाहालसँगै महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि पाँचथर पुगेका थिए ।