७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आर्यघाटमा शव जलाउनेहरुको आन्दोलन फिर्ता, सेवा सुविधा बढाइयो


0
Shares

काठमाडौं, कात्तिक ६ । पशुपति क्षेत्र विकास कोषले आफ्ना मागको सम्बोधन गरेपछि आर्यघाटमा शव जलाउनेहरुले आन्दोलन फिर्ता लिएका छन् ।

कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेसँगै आन्दोलन फिर्ता लिइएको हो । सेवा केन्द्रका कर्मचारीहरुले सेवा सुविधा नबढाए बुधबार बिहानैबाट शवदाहलगायतका सबै काम ठप्प पार्ने चेतावनी दिएका थिए ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता पछि सेवा सुविधा वृद्धि गर्ने सहमति भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए ।

उनीहरुका माग अनुसार एउटा शव जलाएवापत पाउने एक हजार २ सय रुपैयाँलाई बढाएर एक हजार ५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाइएको ढकालले जानकारी दिए ।

यसका साथै अवकाशपछिको उपदान रकम पनि बढाइएको छ । अहिले पाउँदै आएको डेढ लाख रुपैयाँबाट बढाएर पाँच लाख रुपैयाँ पुर्याइने भएको छ ।

यस्तै दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ । यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका हुन् ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले सेवासुविधा नबढाए बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह, दाउरा ओसारपसार लगायतका सबै काम बन्द गर्ने चेतावनीसहितको सूचना नै टाँगेका थिए ।