
पोखरा, कात्तिक ६ । कास्की निर्वाचन क्षेत्र नम्बर-२ मा हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
साझा पार्टीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी केसीलाई उम्मेदवार घोषणा गरेको हो ।
पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको उक्त पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जनाएका छन् ।
लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा मात्र साझा पार्टीमा प्रवेश गरेकी थिइन् । उनले वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएकी थिइन् ।
यसैबीच, साझाले यो उपनिर्वाचनलाई जनमतसंग्रहको संज्ञा दिएको छ । ‘यो उपचुनाव सत्ता र विपक्षमा रहेका दुबै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको जनमत संग्रह हो’ विज्ञप्तिमा भनिएको छ ।
राजनीतिक बेथितीप्रति जनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखी सिर्जनात्मक शक्तिमा बदल्न आफू भरपर्दो विकल्प भएको दावी साझा पार्टीको छ ।
प्रतिक्रिया दिनुहोस्