२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरे-नेपाल पक्ष


0
Shares

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप सोही पार्टीको माधव नेपाल पक्षले लगाएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट आज लिन लागेको विश्वासको मतमा नघाउने निर्णय गर्दै नेपाल पक्षले अरु दललाई पनि मत नदिन आग्रह गर्दै यस्तो आरोप लगाएको हो ।

बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले ओलीले गम्भीर राजनीतिक अपराध गरेकाले मत नदिने निर्णयमा पुगिएको बताउनुभएको हो ।

संवाददाताहरुसँग उहाँले भन्नुभयो, ‘संविधान मिचेर संसद विघटन गरेको, राजनीतिक दल विभाजन गराएको, भ्रष्टाचारको संरक्षण गरेको निष्कर्ष निकालिएको छ ।’

विश्वासको मत लिन एक दिनमात्र बाँकी रहँदा अध्यादेश जारी गरेर संवैधानिक परिषदबाट स्वेच्छाचारी किसिमले नियुक्तिहरु गरेकाले त्यस्ता क्रियाकलाप गर्ने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने पनि रावलले बताउनुभयो ।

यस्ता प्रधानमन्त्रीलाई मत दिनु भनेको लोकतान्त्रिक दृष्टिकोणले लोकतन्त्रलाई कमजोर तुल्याउने, राजनीतिक नैतिकता ध्वस्त गर्ने र राजनीतिक स्थायित्व, स्वाधिनताका दृष्टिकोणबाट राज्यलाई कमजोर तुल्याउनु हुने निष्कर्ष पनि बैठकले निकाले उहाँको भनाइ छ ।

रावलले भन्नुभयो, ‘नेपालको संविधान, नेपालको लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि हामीले अनुपस्थित हुने निर्णय गरेका हौं ।’

सामूहिक राजीनामा दिने विषयमा छलफल गरेको भए पनि अहिलेलाई अनुपस्थित हुँदा मात्रै पनि ओली सरकार ढल्ने भएकाले यही निर्णय गरिएको उहाँको भनाइ थियो ।