
विराटनगर, कात्तिक ८ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको दावी गरेका छन् ।
विराटनगरमा सञ्चारकर्मीसँग उनले दुबै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको बताए । कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए ।
दुबै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टीभित्र छलफल र बहस हुुनुु सामान्य हो भन्दै यसलाई विवादका रुपमा लिन नहुने उनको भनाइ थियो ।
‘अखबारमा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको’ टिप्पणी गर्दै उनले आवश्यकताअनुुसार दुुबै अध्यक्षले पार्टी कामको जिम्मेवारी लिनसक्ने धारणा राखे ।
रक्षामन्त्री पोखरेलले नेकपा विप्लव समूहले राखेको शर्तमा वार्ता नहुने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्दछौँ भने ।
सभामुख कसलाई बनाउने सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्