
काठमाडौं, कात्तिक ८ । प्रहरीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरूद्धको अनुसन्धान सकाएको छ । आफ्नो अनुसन्धान सकाएर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
आफ्नै कार्यालयकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप खेपिरहेका महराको अनुसन्धान नसकिएको भन्दै विहीबार मात्रै प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात दिनको थप म्याद लिएको थियो ।
महराविरुद्धको अनुसन्धान सकाएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।
अनुसन्धान प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने वा अभियोग पत्र अदालतमा दर्ता गर्ने भन्ने निर्णय भने सरकारी वकीलको कार्यालयको हुन्छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि जबरजस्ती करणी उद्योगमा प्रहरीले अनुसन्धान गरेको हो ।
प्रहरीले जबजरस्ती करणी उद्योगमा कैद तथा जरिवाना माग गर्दै प्रतिवेदन बनाएको जनाइएको छ । असोज १२ गते शाहीको कोठामा प्रवेश गरी जबरजस्ती बलात्कार प्रयास गरेको जाहेरी प्रहरीमा परेकोपछि अनुसन्धान थालिएको हो ।
घटना सार्वजनिक भएपछि महराको मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई सभामुख र सांसद दुबै पदबाट राजीनामा गर्न सझाएको थियो । महराले भने सभामुख पदबाट मात्र राजीनामा दिएका छन् ।
प्रहरीले भने महरालाई असोज १९ गते सभामुख निवास बाुलवाटारबाटै पक्रेको थियो । तर आफु बिरामी भएको भन्दै चार दिनपछि उनी प्रहरी हिरासतबाट नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्