
काठमाडौं, वैशाख २९ । देशमा कोरोना संक्रमण अनियन्त्रित भइरहेका बेला देशभरका अस्पतालहरुले अक्सिजन अभावका कारण थप संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्न थालेका छन् ।
यसरी घोषणा गर्नेमा राजधानीकै सुविधासम्पन्न निजी अस्पतालदेखि मोफसलका अस्पतालहरु रहेका छन् ।
मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार गर्न समस्या भएको बताइरहेका बेला बुधबार आइपुग्दा एकपछि अर्को गर्दै सुबिधासम्पन्न मानिएका अस्पतालहरुले उपचार गर्न नसक्ने घोषणा गर्दै हात उठाएका हुन् ।
यसअघि, सरकारले एकाएक अस्पतालहरुलाई अक्सिजनमा कोटा तोकेको थियो । उक्त निर्णयले विरामीलाई असर पर्नेभन्दै अस्पतालहरुले सरकारी निर्णयको आलोचना गरेका थिए ।
अक्सिजनको चरम अभाव रहेको भन्दै थप कोरोना संक्रमितलाई उपचार गर्न नसक्ने घोषणा गर्नेमा मेडिसीटी, ग्राण्डी इन्टरनेशनल, नर्भिकलगायतका राजधानीका सुबिधासम्पन्न अस्पतालहरु रहेका छन् ।
यता, अक्सिजनको चरम अभावलाई देखाउँदै निजी अस्पतालहरुले एकपछि अर्को गर्दै उपचार रोक्ने निर्णय गरेका बेला सरकारले भने १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट राख्न निजी अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय बेडमाथिका निजी अस्पतालले १५ दिनभित्र आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने निर्णय गरेको हो । धेरै सरकारी अस्पतालमा अक्सिजन प्लान्ट रहेको जनाउँदै निजीले पनि आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने तर्क मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमको छ ।
काठमाडौंको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पतालले बुधबार सूचना जारी गर्दै आवश्यकता अनुसार अक्सिजन व्यवस्थापन नभएको भन्दै थप विरामीको उपचार गर्न नसक्ने जनाएको हो ।

सरकारबाट दैनिक प्राप्त हुने एक सय वटा सिलिण्डरले थप विरामीको उपचार गर्न नसकिने अस्पतालले प्रष्टीकरण छ ।
उता, ललितपुरस्थित मेडिसिटी अस्पतालले मंगलबार नै विज्ञप्ति निकालेर प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सरकारले १ सय सिलिण्डर मात्र दिने जनाएकाले अब कुनै हालतमा पनि उपचार गर्न नसकिने जनाएको थियो ।

यसैगरी, काठमाडौंको नेपाल मेडिकल कलेजले पनि मंगलबार नै अक्सिजन नभएको भन्दै विरामी आफैलाई व्यवस्थापन गर्न सूचना निकालेर भनेको थियो ।

काठमाडौंकै मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायू अस्पतालले त यसअघि नै अक्सिजन नभएकै कारण देखाउदै उपचार गर्न नसक्ने जनाएका थिए ।

दैनिक ४ सयदेखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक परेका बेला सरकारले सिसिएमसीमार्फत् १ सय वटा सिलिण्डर तोकेपछि अस्पतालहरु उपचार गर्न नसक्ने भन्दै पन्छिएका हुन् ।
हाल उपत्यकामा मात्र दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भए पनि करीब १० हजार मात्र आपूर्ति गर्न सकिएको मन्त्रालयका सचिव लक्षमण अर्यालको स्वीकारोक्ति छ ।
चिकित्सकहरूले भने अक्सिजन अभावकै कारण धेरै संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आउने चेतावनी दिइसकेका छन् ।
उता, मोफसलका ठूला अस्पताल मानिएका भैरहवाको युनिभर्सल मेडिकल कलेज, बाँकेको कोहलपुर मेडिकल कलेजले पनि थप विरामीको उपचार गर्न नसक्ने भन्दै हात ठड्याइसका छन् ।

प्रतिक्रिया दिनुहोस्