२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अक्सिजनको अभावले निम्त्यायो संकट, १० अस्पतालले उपचार गर्न नसक्ने भन्दै हात उठाए


52
Shares

प्रज्ञा तिमल्सीना

काठमाडौं, बैशाख २९ । कोरोना संक्रमितहरुको उपचारमा अत्यावश्यक अक्सिजनको चरम अभावले देशभर स्वास्थ्य संकट निम्त्याएको छ ।

देशै भरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि निजी अस्पतालले थप विरामीको उपचार गर्न नसक्ने भन्दै धमाधम हात उठाउन थालेका छन् ।

बुधबारसम्म १० वटा निजी अस्पतालले अक्सिजनको अभाव देखाउदै थप विरामी उपचार गर्न नसक्ने भन्दै हात उठाई सकेका छन् ।

केही ठुला निजी अस्पतालले उपचार गर्न समस्या भईरहेको भन्दै कुनै पनि वेला सेवा वन्द गर्नु पर्ने अवस्था आउनसक्ने जनाउन दिन थालेका छन् ।

निजी अस्पतालहरुले उपचारमा हात उठाउन थाले पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय शैया भन्दा माथिका निजी तथा सामुदायिक अस्पतालहरुलाई १५ दिन भित्र आफनै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफनै अक्सिजन प्लान्ट जडान गर्नु पर्ने र त्यसको सहजिकरण स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्रालयले दिनहु १५ हजार सिलिण्डर आवश्यक पर्नेमा झन्डै १० हजार सिलिण्डरको मात्र व्यवस्था भएका कारण समस्या आएको जनाएको छ ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अब अक्सिजनको उत्पादन नबढाए झनै समस्या हुने बताउनुभयो ।

मन्त्रालयले आँकलन गरेको भन्दा धेरै संक्रमित थपिएका कारण उच्च रुपमा तयारी बढाउन नसकेको भन्दै सचिव अर्यालले असार मसान्तसम्म ५ लाख ६६ हजार सिलिन्डर आवश्यक पर्ने देखिएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले अक्सिजनको आपुर्तीका लागि विश्व वैंक र युनिसेफसँग छलफल गरेको जनाए पनि अक्सिजनको ब्यवस्था कहिले होला भन्ने टुङ्गो छैन् ।

चीन सरकारले दिएको २० हजार सिलिण्डर मध्ये ४ सय सिलिण्डर मात्र नेपाल आएको छ ।

यस अघि अक्सिजन उत्पादनको समस्या होइन भन्दै हिडेको स्वास्थ्य मन्त्रालय अहिले सिलिण्डर समस्या होईन अक्सिजन उत्पादन गर्न सकिएन भन्न थालेको छ ।

देशभर अक्सिजन सहितका शैयाको अभाव छ । संक्रमितले उपचार पाईरहेका छैनन् ।

तर स्वास्थ्य मन्त्रालय १५ सय ५५ एचडियु सञ्चालमा ल्याएको र ४ सय आइसियू थप गर्ने तयारी गरेको जस्तो फितलो जवाफ दिईरहेको छ ।

अक्सिजन र शैयाको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको अवस्थामा गम्भिर निर्णय नलिने तर छलफल र पहल गरिरहेका छौँ भनेर बसिरहने हो भने अवस्था झन भयावह हुने देखिएको छ ।