१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्लाहीमा शिकारी र प्रहरीबीच फायरिङ, एक शिकारी पक्राउ


0
Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार साँझ वनमा शिकार गर्न गएको शिकारीको समूह र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएको छ ।

वनमा हतियार बोकेर शिकारीको समूह शिकार गर्न गएको सूचना पाएपछि बयलवासस्थित ईलाका प्रहरी कार्यालय केशरगञ्ज र प्रहरी चौकी फूलजोरबाट गस्ती गर्दै गएको प्रहरी टोली र शिकारीको समूहबीच जम्काभेट हुँदा दोहोर भीडन्त भएको हो ।

केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार प्रहरीलाई देख्नासाथ शिकारीहरुको समूहले भरुवा बन्दुकबाट फायरिङ गरेका थिए ।

प्रहरीले पनि आत्मरक्षाका लागि जवाफी फायरिङ गरेको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो ।

घटनामा मानवीय क्षति भएको छैन् । घटनास्थलबाट शिकारीको समूहमध्येका ईश्वरपुर नगरपालिका–४, बस्ने अन्दाजी ४०/४५ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।

अरु दुई/तीन जना शिकारी भने भाग्न सफल भएका र उनीहरुको पनि खोजी भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

सुरुमा एक थान भरुवा बन्दुक मात्रै भेटिए पनि पछि घटनास्थल आसपास खोजी गर्दै जाँदा थप दुई थान बन्दुक बरामद् भएको एसपी राठौरले बताउनुभयो ।

घटनस्थलबाट भरुवा बन्दुकसँगै त्यसमा प्रयोग हुने बारुद, फलामको केही काँटी र एउटा मृत निलगाई बरामद् भएको प्रहरीले जनाएको छ ।