
काठमाडौं, वैशाख ३० । राष्ट्रपति विद्या भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी ओलीलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
त्यसअघि, संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न समय दिइएकामा निर्धारित समय बिहीबार राति ९ बजेसम्म कसैले पनि त्यस्तो दावी पेश गर्न नसकेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।
त्यसलगत्तै राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यो नियुक्तिसँगै ओली तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको हो ।
त्यसअघि, ओली वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा सदनको विश्वास लिन नसकी आवश्यक बहुमत जुटाउन नसक्दा पदमुक्त हुनुभएको थियो ।
सबै विपक्षी दलहरु ओलीलाई फेरि प्रधानमन्त्रीमा नियुक्त हुन नदिन जुटेपनि अन्तिम समयमा ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई तटस्थ राख्दै विपक्षी कित्तामा बहुमत पुग्न दिनुभएन ।
त्यसैगरी, आफैले पार्टीबाट निलम्बन गरेका माधव नेपालहितका चार नेतालाई कार्वाही फुकुवा गर्दै सर्वोच्च अदालतको आदेशबमोजिम पार्टी सञ्चालन गर्ने सहमति जनाएर थामथुम पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्