
काठमाडौं, जेठ २ । चीनले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै काठमाडौं आउँदैछन् ।
कोरोना महामारी तीब्र बनिरहेका बेला अक्सिजनको हाहाकार ब्यहोरिरहेको नेपाललाई चीनले अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोगस्वरुप पठाएको हो ।
चीनले दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तिब्बत नाकामा आइपुगेको तातोपानी भन्सारका भन्सार प्रमुख नारद मुनि गौतमले जानकारी दिनुभयो । भोलिसम्म ती सिलिण्डर तातोपानी आइपुग्नेछन् ।
उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत अक्सिजन तातोपानी आइसकेको बताएपनि भन्सार प्रमुखले भने भोलि मात्र आइपुग्ने जानकारी दिनुभएको हो ।
तिब्बतको कुति (न्यालम) भन्सारबाट अघि बढेका अक्सिजन सिलिण्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्नासाथ काठमाडौं पठाइने भन्सार कार्यालयले जनाएको छ । अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्गबाट सामग्री नेपाल ल्याइएको हो ।
अक्सिजनका सिलिण्डर बोकेका १२ वटा कन्टेनर आइपुगेपछि नेपालमा अक्सिजनको अभाव अलि कम हुने बताइएको छ ।
अहिले काठमाडौंलगायत देशैभरका अस्पतालमा अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।
हवाई मार्गबाट पनि अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन शनिवार राती नै नेपाल वायु सेवा निगमको जहाज बेइजिङ गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्