
एलबी विश्वकर्मा
काठमाडौं, जेठ २ । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारमाथि नेकपा एमालेले असन्तुष्टि जनाउन थालेको छ ।
एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको तयारी थालेसंगै संघीय सरकार र एमाले नेताहरुले निरन्तर सरकारमाथि आक्रोश ब्यक्त गर्न थालेका हुन् ।
एमालेले सुदूरपश्चिम प्रदेशमा आफ्नै सरकार गठनको तयारी थालेसंगै मुख्यमन्त्रीमाथि निरन्तर प्रहार भइरहेको छ ।
संघीय सरकार र पार्टीको प्रदेश कमिटीले आफ्नो बहुमत पुग्ने दाबि गर्दै सरकार गठनको तयारी थालेपछि प्रदेश सरकारमाथि प्रहार सुरु भएको हो ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्रीले केपी शर्मा ओलीले नै मूख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेशका नाममा राज्य रजौटाको प्रवृत्ति देखाएको भन्दै सार्वजनिक रुपमा आक्रोश पोखेसँगै संघीय सरकारको कुण्ठा छताछुल्ल भएको हो ।
एमाले प्रदेश कमिटीले समेत सरकार गठनका लागि तयारी थालिसकेको छ । प्रदेशमा स्पष्ट बहुमत भएको एमालेले सरकार गठनका लागि दुई सदस्य कम पर्ने र यसका लागि राष्ट्रिय जनता पार्टी (राजपा)लाई साथ दिन वार्ता थालेको छ ।
एमालेले आन्तरिक तयारी गरिसक्दा पनि प्रदेश सरकार भने मौन देखिन्छ । आफ्नो सरकार टिकाउन मुख्यमन्त्री त्रिलोचन भट्टले कुनै कदम चालेको देखिँदैन् । मुख्यमन्त्री भट्ट अझै यसबारेमा मुख समेत खोल्न चाहँदैनन् ।
सुदूरपश्चिम प्रदेश सभामा एमाले २५ सिटसहित सबैभन्दा ठूलो दल रहेकोछ भने माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेश सभा सदस्य रहेका छन् ।
प्रदेश सरकार गठन गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।
प्रतिक्रिया दिनुहोस्