
काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको सम्पूर्ण ध्यान संसद विघटन गर्नेमा केन्द्रित रहेको दावी गर्नुभएको छ ।
प्रजातान्त्रिक विचार समाजको भर्चुअल माध्यमबाट भएको अधिवेशनलाई सम्बोधन गर्दै दुबै नेताले संसदले विश्वास नगरेको व्यक्ति फेरि प्रधानमन्त्री स्वीकार्नुपर्ने अवस्था आउनु नेपाली लोकतन्त्रका लागि दूर्भाग्यपूर्ण भएको बताउनुभयो ।
मुलुक र जनता कोरोना महामारीको चरम संकटमा फसेका बेला प्रधानमन्त्री र उनको पार्टीको पूर्ण ध्यान सत्ताकब्जामा रहनु दुःखद रहेको उहाँहरुले बताउनुभयो ।
जनस्वास्थ्यलाई मजाकमा उठाउने प्रधानमन्त्रीकै कारण पाँच हजार नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै नेता केसीले यो राज्यहत्या भएको टिप्पणी गर्नुभयो ।
जनता महामारीमा फसेका बेला राज्यसत्ता कमिशनको अनेकन खेलमा एक/एक गर्दै लाग्नुले यो सरकारको नियत प्रष्टिएको डा. कोइरालाको भनाइ थियो ।
समाजले प्रजातान्त्रिक आन्दोलनका योद्धाद्वय मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रजातान्त्रिक समाजले सम्मान गर्ने निर्णय पनि गरेको छ ।
समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले राज्यसत्ता निर्मम रुपमा प्रस्तुत हुँदा पनि प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्व हराउनु दूर्भाग्यपूर्ण भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्