१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय सभा सदस्यका लागि माधव नेपालसँग थापाले मागे मत, देवकोटालाई उठाएका नेपाललाई धर्मसंकट !


0
Shares

काठमाडौं, जेठ ४ । एमाले नेता माधव नेपालसँग गृहमन्त्री रामबहादुर थापाले मत माग्नुभएको छ ।

जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि एमालेका उम्मेदवार बन्नुभएका थापाले नेपाल निवासमै पुगेर आफूलाई मत दिलाउन सहयोगको याचना गर्नुभएको हो ।

थापाले सहयोगको याचना गरेपनि नेता नेपालले भने कुनै जवाफ नदिनुभएको उहाँ निकट स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष केपी ओलीसँग पानी बाराबारको अवस्थामा हुँदा आफैले उम्मेदवार उठाएका खिमलाल देवकोटा पनि चुनावी मैदानमै रहेकाले नेपाल धर्मसंकटमा पर्नुभएको हो ।

ओली र नेपालबीचको मनमुटावका कारण विभाजनको मुखमा पुगेको पार्टीलाई रोक्ने प्रयासअन्तर्गत अहिले दुई नेताबीच संवाद खुलाएर विवाद हल गर्न कार्यदलसमेत बनाइएको छ ।

पार्टी एकताका लागि कार्यदलले समाधानको उपायहरु खोज्न बैठक गरिरहेकै समयमा हुन लागेको यस निर्वाचनमा नेपाल पक्षले ओलीका उम्मेदवार थापालाई सघाउने कि आफैले उठाएका देवकोटालाई भन्ने प्रश्न उब्जेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नेपालले देवकोटालाई उम्मेदवार बनाउनुभएको थियो । देवकोटा एमालेकै समर्थक हुनुहुन्छ ।

जेठ ६ गते वाग्मती प्रदेश अन्तर्गतको राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ । २०७४ मा एमाले–माओवादी गठबन्धनबाट चुनाव जित्नुभएका तत्कालीन माओवादी नेता थापा २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले–माओवादी एकता भंग गरिदिएपछि एमाले प्रवेश गर्नुभएको छ ।

एमाले प्रवेश गरेसँगै माओवादीबाट कार्वाहीमा पर्नुभएका थापालाई सांसदबाटै हटाइएको थियो । सोही पदमा फेरि मतदान हुन लागेको हो ।