
रोमन आचार्य
काठमाडौं, जेठ ४ । सत्ताको बागडोर सम्हाल्न तयार भएको र पार्टीभित्रको विवाद समाधान भएको संकेत दिने गरी जनता समाजवादी पार्टीले निकालेको विज्ञप्तीको मसी सुक्न नपाउँदै पार्टीभित्र पुनः विवाद देखिएको छ ।
राजेन्द्र महतो संसदीय दलको नेता नबन्ने समझदारी गरेर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ती निकालेको केही समयमै पुनः महतोलाई संसदीय दलको नेता बनाइएको भनि विज्ञप्ती आएसँगै पार्टीभित्र गहिरो संकट देखिएको छ ।
महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्मिा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाइएको उल्लेख गरिएको छ ।
जहाँ जसपाको बैठकले निर्णय गरेको र आवश्यक कागजात उपलब्ध गराइएको भनि संसद सचिवालयलाई जानकारी गराइएको छ ।
तर, जेठ २ गतेनै अर्का अध्यक्ष उपेन्द्र यादवले संसदमा अर्को पत्र लेख्दै हालसम्म पार्टीले कसैलाई पनि संसदीय दलको नेता चयन नगरेको स्पष्ट पारेका छन् ।
केही समय अघि आफ्नै नेतृत्वमा सरकार बनाउन कस्सिएको जसपा एकाएक फेरी चोइटिने गरि अघि बढेको हो ।
प्रधानमन्त्री ओलीको संकटमोचक बन्ने कि ओलीलाई बालुबाटारबाट बालकोट पठाउने विषयको रँडाकोले पार्टी नै विभाजनको अवस्थामा पुगेको हो ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा आफ्नै नेतृत्वमा सरकार बने वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आए जसपा सत्ता साझेदार बन्न तयार छ भनी उल्लेख गरिएको छ ।
बैशाख २७ मा संसदमा भएको विश्वासको मतदान प्रकृयाले पार्टीभित्र गुटवन्दी र अराजकता बढाएको निष्कर्शमा दुबै अध्यक्ष पुगेको भनिएपनि तत्काल पार्टीभित्र देखिएको समस्या हल भएको छैन ।
नयाँ सत्ता समीकरण मात्र पार्टीभित्रको समस्या नभै त्यो भन्दा ठूलो बैचारिक मतभेद र अस्तित्वको लडाइ जसपामा छ ।
प्रधानमन्त्री ओलीको एउटा अध्यादेशले रातारात बनेको जसपा उनै ओलीको राजनीतिक गोटी बन्दा एक वर्षमै झण्डै विभाजन हुनपुग्यो ।
आफ्नै पार्टी नेकपा एमाले विभाजनको वाटोमा धकेलिंदा ओलीले कुर्सी जोगाउन जसपाको भरपूर उपयोग गरेका थिए ।
यतिसम्म कि विपक्षी गठबन्धन बन्न नदिन मधेशका केही थान मुद्धा पनि रातारात सम्बोधन गरिए ।
जुन जसपा भुल्याउने ललिपप बन्यो र आफ्नै नेतृत्वमा सरकार बनाउने अवसर जसपाले उपभोग गर्न सकेन भन्ने आम बुझाइ छ ।
अहिले फेरी आफंै सरकार बनाउँछु भन्दै विज्ञप्तीबाजी गर्दैमा पार्टीभित्र विवाद समाधान भइसक्यो भन्न हतारो हुने स्वयम् जसपा नेताहरुको बुझाइछ ।
प्रतिक्रिया दिनुहोस्