१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसईई र कक्षा १२ को परीक्षाबारे सरकारले निर्णय नदिदा विद्यार्थी अन्योलमा


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं, जेठ ४ । यतिखेर माध्यमिक शिक्षाको परीक्षा एसईई र कक्षा १२ को परीक्षा कसरी होला भनेर ९ लाख भन्दा बढी परीक्षार्थी अन्योलमा छन् ।

सरकारलाई यथासक्य छिटो निर्णय दिन विद्यार्थीको आग्रह छ । परीक्षाको लागि कार्यदलमार्फत काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डले जेठ १५ भित्र सुझाव सहितको प्रतिवेदन तयार हुने र सोही अनुसार अघि बढ्ने जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईई स्थगीतपछि के होला भन्ने विद्यार्थीमा देखिएको अन्योल छ ।

विद्यार्थीले भर्चुअल माध्यमबाट कक्षा त लिइरहेका छन् तर, यो उपलब्धिमूलक बन्न सकेको छैन ।

एसईई परीक्षा भइहालेमा तीन महिना भौतिक रुपमा भएको कक्षाको आधारमानै परीक्षा दिनुपर्ने उनीहरुको भनाइ छ ।

गत वर्ष जस्तो विद्यालयले लिएको परीक्षालाई आधार बनाएमा वास्तविक रुपमा मुल्याङ्कन नहुने चिन्ता विद्यार्थीमा छ ।

कोरोनाका कारण बोर्डले पूर्व निर्धारित जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगन गरेको छ ।

एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिसकेको र ५ लाख १७ हजार विद्यार्थीको लागि २ हजार १९ परीक्षा केन्द्रसमेत तय भैसकेको थियो ।

करिब ४ लाख विद्यार्थी रहेका कक्षा १२ को परीक्षा पनि अन्योलमा छ । बोर्डले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनका लागि अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ ।

महामारीको अवस्था कायमै रहे भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहे के कसरी अघि बढ्ने भन्ने मोडालिटी तय गर्न कार्यदलले काम गरिरहेको छ ।

जेठ १५ गतेसम्म कार्यदलले आफ्नो प्रतिवेदन बुझाउने जनाइएको छ ।

गत वर्ष बोर्डलाई परीक्षाको जिम्मा नदिइ मन्त्रालय आँफैले बिना अध्ययन एसईई आन्तरिक मुल्याकंनको आधारमा गर्ने निर्णय गरेको थियो ।

यसप्रति बोर्डले असन्तुष्टि जाहेर गरेको थियो । कक्षा १२ को परीक्षा होम सेन्टरमा गरिएको थियो ।

यस वर्ष भने मन्त्रालय कार्यदल बनाएर आलोचनामुक्त हुने प्रयासमा रहेको छ ।