१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय सभा उपनिर्वाचनः गृहमन्त्री थापाको भाग्य र प्रधानमन्त्री ओलीको साख परीक्षा


0
Shares

ram bahadur thapa badal in rastriya sabha nirwachan

काठमाडौं, जेठ ६ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशमा रिक्त एक सदस्य पदका लागि प्रदेश राजधानी हेटौंडामा उपनिर्वाचन भइरहेको छ ।

विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएपछि गणना गरी परिणाम आजै सार्वजनिक गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

यो निर्वाचनलाई नवप्रवेशी एमाले उम्मेदवार गृहमन्त्री रामबहादुर थापाको भाग्य र प्रधानमन्त्री केपी ओलीको साखको परीक्षाका रुपमा पनि हेरिएको छ ।

निर्वाचनको मैदानमा सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री थापा, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेका माधव नेपाल पक्षतर्फबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उत्रनुभएको छ ।

नेकपाको एकता विखण्डित भएपछि माओवादी केन्द्रबाट एमालेतर्फ लाग्नुभएका थापालाई अध्यक्ष केपी ओली पक्षले उम्मेदवार बनाउँदा नेपाल पक्षका देवकोटालाई अरु विपक्षीले साझा उम्मेदवार बनाएकाले यो निर्वाचनमा गृहमन्त्री थापाको जीत/हारलाई प्रधानमन्त्री ओलीको साखसँग पनि जोडेर हेरिएको हो ।

पार्टी विभाजनको मुखमा पुगेर समाधानको उपाय खोजिरहेको एमाले वृत्तमा यो निर्वाचन ओली–नेपाल पक्षमा लेप बन्छ वा विभाजनकारी तूरुप त्यो पनि मतदानपछि आउने परिणामले तय गर्नेछ ।

आफ्ना उम्मेदवार थापालाई मत नदिए ती सबैलाई कार्वाही गर्ने धम्कीपूर्ण वक्तव्य जारी गर्नुभएका अध्यक्ष ओलीले बिहीवार नै स्थायी कमिटीको वैठब आह्वान गरेकाले पनि चासो बढेको हो ।

कोरोना महामारीले आमजनता प्रभावित भएका बेला राष्ट्रय सभाको रिक्त एक सदस्यका लागि मतदान गराइएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर मतदान भइरहेको जानकारी दिनुभएको छ ।

मतदान केन्द्र हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा राखिएको छ । वाग्मती प्रदेशसभाका ११० सदस्य र यसै प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखका लागि फरक मतपत्र बनाइएको छ ।

निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ ।