१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीसीएमसी खारेज गर्न माओवादीको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने


0
Shares

काठमाडौं, जेठ ६ । नेकपा माओवादी केन्द्रले कोरोना भाइरस रोकथाम र नियन्त्रका लागि काम गरिरहेका उप्रधानमन्त्री नेतृत्वको सीसीएमसी खारेज गर्न माग गरेको छ ।

बिहीबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजसहितको माग पत्र प्रधानमन्त्री केपी ओलीलाई बुझाउने निर्णय पनि गरेको छ ।

नेता वर्षमान पुनका अनुसार कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूबारे प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन लागिएको हो ।

शुक्रबार ज्ञापन बुझाइने जानकारी दिँदै पुनले भन्नुभयो, ‘सरकारले कोभिडकाबारेमा काम गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनेर शुक्रबार ज्ञापनपत्र बुझाउने निर्णय भएको छ । सीसीएमसी खारेज गर्नुपर्छ त्यो अनावश्यक संयन्त्र भयो ।’

सीसीएमसीले काम गर्न नसकेको भन्दै माओवादीले कानुनले चिनेको प्रधानमन्त्री नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने बताएको छ ।

कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन माग गर्दै कोरोना नियन्त्रणमा सरकार पुरै असफल भएको निष्कर्ष पनि निकालिएको छ ।

स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा अनियमितता भएको भन्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न माग गरेको छ ।