
पोखरा, जेठ ६ । पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ ।
सरकारले कोभिड–१९ केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेसँगै पोखराको जिएमसी र मणिपाल अस्पतालले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका हुन् ।
यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सयदेखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले गण्डकी मेडिकल कलेजमा कोरोनाको बिरामीको निशुल्क उपचार गर्ने भनेपछि तयारी शुरु गरेको कलेजकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले बताउनुभयो ।
जटिल अवस्थाका बिरामीको उपचारका लागि एक दिनमा १५ हजारभन्दा बढी खर्च लागेको खण्डमा बिरामी आफैले तिर्नुपर्ने उहाँले बताउनुभयो ।
आफूहरुकोमा धेरै जटिल खालका बिरामी आउने हुँदा सरकारले दिएको १५ हजारले सबैलाई नधान्ने उँहाको भनाइ छ ।
सुरुमा १ सय बेड कोरोनाका बिरामीका लागि छुट्याउने सहमति भए पनि गण्डकी मेडिकल कलेजमा २ सय २२ जनासम्म संक्रमित पुगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्