
काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्या भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया थालेकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीको सिफारिशमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले प्रक्रिया थाल्नु आपत्तिजनक र असंवैधानिक भएको कांग्रेसको टिप्पणी छ ।
संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्नु असंवैधानिक भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको टिप्पणी छ ।
कुन संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको पहल थालेको हो भन्ने प्रश्न गर्दै खाँडले राष्ट्रपतिले समयसीमा तोक्नुलाई हास्यास्पदको संज्ञा दिनुभयो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नयाँ सरकार गठन प्रक्रियालाई आपत्तिजनक भन्दै यो संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ ।

अर्का नेता अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट सरकार गठनका लागि गरिएको आह्वान पूर्णतः असंवैधानिक भन्दै यो मनपरीतन्त्रको द्योतक भएको टिप्पणी गर्नुभएको छ ।
उता, प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति भण्डारीको नियतमाथि प्रश्न गर्दै राष्ट्रपति भवनमा राष्ट्रपति बस्ने गरेको हो कि विद्या भण्डारी भन्दै औला ठड्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्