
कपिलवस्तु, कात्तिक १४ । कपिलवस्तुको सीमानाका कृष्णनगरमा प्रहरी र स्थानीयबासीबीच भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।
बिहीबार दिउँसो स्थानीय र प्रहरीबीच झडप हुँदा सुरज पाण्डे मारिएका थिए । सीमा क्षेत्र बढनीमा घर भएका सुरजकुमार पाण्डेको प्रहरीको गोली लागेर मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।
पाण्डे १५ बर्षदेखि कृष्णनगरमा चियापसल सञ्चालन गरेर बसेका थिए । लक्ष्मीपूजाको मूर्ति बिसर्जन गर्न पाउनुपर्ने मागसहित पाण्डेसहितका स्थानीय प्रदर्शनमा उत्रिएसंगै कर्फ्यु तोडेको भन्दै प्रहरीले गोली प्रहार गरेको थियो ।
प्रहरीको गोली लागेका पाण्डेको घटनास्थलमै मृत्यु भएको हो ।
लक्ष्मीपूजाको मूर्ति बिसर्जन गर्न मस्जिदको बाटो हुँदै जान रोक लगाइएपछि सुरु भएको भनाभनले झडपको रुप लिएको हो ।
कर्फ्यु आदेश जारी नै
झडपपछि कृष्णनगरमा प्रशासनले अनिश्तिकालिन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो ।
स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शनकाक्रममा केही व्यक्ति घाइते भएका छन् ।
प्रदर्शनकारीले पाण्डेको शव सडकमै राखेर प्रदर्शन गरेका छन् । प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बिहीबार सय राउण्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको छ ।
रुष्ट बनेका प्रदर्शनकारीले कृष्णनगर बसपार्कमा रहेको पुलिस बिट जलाएका छन् । कृष्णनगरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्