
काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरुद्ध भएको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीको प्रतिरक्षामा भन्नुभयो, ‘राष्ट्रपतिको हूर्मत लिइयो, मर्यादा घटाउने काम भयो । यो के कारणले भइरहेको छ ? के कारणले राष्ट्रपतिमाथि महाभियोग ल्याउने कुरा हुँदैछ ?’
राष्ट्रपतिमाथि किन खनिँदै हुनुहुन्छ भन्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन । फेस गर्न म तयार नै छु । सिफारिश त मैले गरेको हो । त्यसका लागि म जवाफदेही छु । राष्ट्रपतिमाथि प्रहार किन ?’
चित्त नबुझ्नेहरुलाई अदालत जान संकेत गर्दै उहाँले भन्नुभयो, ‘संवैधानिक ब्याख्या गर्ने निकाय त छँदै छ नि ? वैकल्पिक सरकार बनाउने बाटो छेकेको छ र ? मैले त बाटो खोलेको हो । मार्गप्रशस्त गरेको भनेकै छु त । बरु संसद विघटन बाटोमा त विपक्षीहरुले तानिरहेका छन् ।’
प्रतिक्रिया दिनुहोस्