८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जुवाडेलाई अदालतले गरेन रिहा, सात दिन थुनामै राख्न अनुमति


0
Shares

काठमाडौं, कात्तिक १४ । जुवा खेल्दा खेल्दै पक्राउ परेका जुवाडेलाई अदालतले थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

गत शनिबार महाराजगञ्जमा जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेकै अवस्थामा दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित उनीहरु पक्राउ परेका थिए ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जुवाडेविरुद्धको अनुसन्धान नसकिएको भन्दै थुनामै राख्न अदालतसँग समय मागेका थिए । आरोपीहरुले भने प्रहरीले आफूहरुलाई गैरकानूनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रहरीविरुद्ध रिट दायर गर्नेमा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा हुन् ।

आइतबार, सोमबार र बुधबार बेग्लाबेग्लै दायर रिटलाई बुधबार अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीले सबै निवेदनलाई साथमै राखी पेश गर्न भने अनुसार बिहीबार सुनुवाई भएको हो ।

प्रहरीले उनीहरुविरुद्ध मुलुकी अपराध संहिताको सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने अभियोग लगाइएको छ ।

अपराध संहिताअनुसार अभियोग प्रमाणित भए पहिलो पटक खेल्ने वा खेलाउनलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिवाना र तयसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।