
काठमाडौं, जेठ ९ । नेकपा (एमाले) मा अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीच पानी बाराबारको अवस्था सृजना भएको छ ।
ओलीले नेपाल पक्षमाथि कार्वाही प्रक्रिया थाल्नु भएको छ भने नेपाल पक्षले ओलीका निर्देशनहरु अवज्ञा गरिरहनु भएको छ । यो पार्टी विभाजनको औपचारिक विन्दु कुरेर बसिरहेको देखिन्छ ।
यही बेला नेपालनिकट एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिनुभएको हो ।
काठमाडौंस्थित पशुपति क्याम्पसका पूर्वविद्यार्थी नेता राईले पार्टीको चुनाव चिह्न कलम माग्नुभएको छ । आयोगमा दल दर्ताका लागि शुक्रबार निवेदन दिइएको हो ।
कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष रहेको दलको कार्यसमितिमा २५ सदस्य छन् ।
प्रधानमन्त्री ओलीसँग विवाद बढ्दै गएपछि नेपाल पक्ष नयाँ दल खोल्ने तयारीमा रहेकै बेला नयाँ दल दर्ताका लागि निवेदन दिइएको हो ।
ओली र नेपाल पक्षबीचको विवाद सुल्झाएर पार्टीलाई एक बनाइराख्न दोस्रो तहका केही नेता लागिरहे पनि अब त्यो सम्भावना टर्दै गएको एमालेकै एक नेता बनाउँछन् ।
यही जेठ ६ गते सम्पन्न राष्ट्रिय सभाका लागि वाग्मती प्रदेशको निर्वाचनमा कलम चिह्न लिनुभएका नेपाल पक्षकै स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटाले गृहमन्त्री रामबहादुर थापालाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्