
काठमाडौं, जेठ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण अझै एक महिना उच्च रुपमा बढ्न सक्ने भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अबको चार हप्तापछि मात्रै संक्रमण विस्तारै घट्ने देखिएकाले यो अवधिभर सचेत रहनु पर्ने बताउनुभयो ।
संक्रमण दर बढ्दै गएको अवस्थामा स्वास्थ्य संकटकाल लगाउनु पर्ने सुझावमा मन्त्रालय सकारात्मक रहेको पनि उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा कोरोना संक्रमणको उपचार र रोकथामका लागि २ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्री त्रिपाठीले संक्रमणको दोस्रो लहरपछि सरकारको आह्वान अनुसार अमेरिका, चीन, स्पेन, स्वीजरल्याण्ड, बंगलादेश र विभिन्न संघ संस्थाबाट २ अर्ब रुपैयाँ बराबरको सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।
५ अर्ब २२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्राप्त गर्ने प्रकृयामा रहेको भन्दै मन्त्री त्रिपाठीले विश्व वैंक र एशियाली विकास वैंकबाट ३२ अर्ब २८ करोड क्रण सहायता परिचालन भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्