
काठमाडौं, जेठ ११ । विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
सोमबार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त र प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा जारी बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।
बैठक संसद विघटनविरुद्ध सर्वोच्चमा रिटसंगै थप रणनीतिमा केन्द्रित रहेको छ ।
विघटनविरुद्ध कानूनी र राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेको विपक्षी गठबन्धनले कानुनी चुनौती दिइसके पनि राजनीतिक प्रतिरोधको प्रकृति तय गरेका छैनन् ।
राष्ट्रपतिले सरकारको सिफारिसमा शुक्रबार मध्यरात प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो ।
विघटनबिरुद्ध विपक्षी गठबन्धनले बहुमत सांसदहरुको हस्ताक्षरसहित हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
उक्त मुद्धाको पेशी आगामी शुक्रबार तोकिएको छ ।
बुधबार बुद्धजयन्तीको अवसरमा सार्वजनिक विदा तथा बिहीबार संवैधानिक इजलास बस्ने नगरेकाले शुक्रबार मात्रै सुनुवाइ हुने भएको हो ।
१ सय ४६ सांसदको रिटसहित ९ वटा रिटको पहिलो पेशी शुक्रबारमात्रै हुने अदालत प्रशासनले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध प्रतिनिधिसभाका बहुमत सांसदले सोमबार सशरीर अदालतमा उपस्थित भएर रिट दायर गरेका हुन् ।
रिटमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश दिइनुपर्ने मागसमेत गरिएको छ ।
सर्वोच्च अदालतमा कुल २८ वटा रिट दायर भएका छन् । प्रधानमन्त्री ओलीको पक्षबाट पनि चारवटा रिट दर्ता भएका छन् । बाँकी २४ रिटहरु ओलीको विरुद्धमा छन् ।
२८ वटा रिटमध्ये ९ वटा रिट संवैधानिक इजलासमा सोझै जान्छन् । बाँकी १९ वटा रिटको पेशी सामान्य बेञ्चबाटै तोकिने सर्वोच्च अदालतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्