१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल केयर’ तालिम


0
Shares

काठमाडौं, जेठ १३ । नेपाल चिकित्सक संघले कोरोना महामारीमा फ्रण्टलाईनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ ।

अग्रमोर्चामा बसेर कोरोना संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि आजदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो ।

विरामीको उपचारका लागि अक्सिजन, औषधी तथा अन्य आवश्यक स्वास्थ्य सामाग्रीले मात्रै नहुने भएकाले आफु सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ ।

तालिममा आफु सुरक्षित रहेर संक्रमित विरामीको व्यवस्थापन, अक्सिजन तथा भ्यान्टीलेटर लगायतको विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुराहरुलाई चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिनुभयो ।

विश्वस्वास्थ्य संगठनलगायत विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालित सो तालिममा एक सय जना चिकित्सक एवंम् स्वास्थ्यकर्मीलाई सहभागिता रहेको बताइएको छ ।