
सोलुखुम्बु, जेठ १३ । सगरमाथा क्षेत्रमा भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ ।
मंगलबारदेखि मौसममा खराबी भएसँगै बाक्लो हिउँ परेकाले आरोहीहरुको उद्धारमा समेत समस्या भएको हो ।
आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जनाको आरोहण स्थगित गरी दोस्रो शिविरमा ल्याईए पनि त्यहाँबाट आधार शिविरसम्म झार्न समस्या भएको छ ।
अहिले तिन दर्जन आरोहि सहित एक सय जना भन्दा बढी दोस्रो आधार शिविरमा अड्किएको आधार शिविरका सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिनुभएको छ ।
दोस्रो आधार शिविरमा रहेका सामान तल झार्नका लागि उच्च हिमाली कामदारहरु समेत माथि जान नसकेको उहाँले बताउनुभएको छ ।
आरोहण सफल गरेर फर्किएका केही आरोहीहरु घाइते भएको र उनीहरुको उद्धारका लागि मौसम प्रतिकुलताकै कारणले हेलिकप्टर समेत पठाउन सकिएको छैन ।
यो सिजनमा हालसम्म दुई सय बढीले आरोहण गरिसकेका छन् ।
यसैबिच, गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्