
खिलनाथ ताजपुरीया
काठमाडौं, जेठ १३ । नेपालमा बहुदलीय व्यवस्थाको थालनीसँगै नै राजनीतिक दलहरु छिन्नभिन्न हुने गरेको पाइन्छ । नेताहरुबीचको व्यक्तिगत टकरावले पार्टीहरु विभाजित हुने गरेका छन् । व्यक्तिगत टकरावका कारण दल नै छिन्नभिन्न गर्ने रोग यस पटक त झन् एकपछि अर्को दलमा सर्दै जाने देखिएको छ ।
प्रधानमन्त्रीमा केपी शर्मा ओलीको निरन्तरता चाहने र नचाहने लडाईका कारण नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजित भएर पुनः पुर्ववत् अवस्थामा फर्किए ।
तर विभाजन त्यत्तिमै सीमित रहने एमालेतर्फ संक्रमण भयो । प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीचको टकरावले अहिले एमाले लगभग चिरा पर्ने अवस्थामा पुगेको छ ।
सत्तासँग प्रत्यक्ष जोडिएको एमालेको विभाजनको पराकम्पनले अर्को पार्टी जनता समाजवादीलाई पनि भत्काउने देखिएको छ ।
राजनीतिक विश्लेषक आनन्दराम पौडेल विधान बमोजिम संचालन नभएका दलहरुको विभाजनको खेललाई नेताहरुको क्षणिक सत्ता स्वार्थको संज्ञा दिनुहुन्छ ।
उसो त राजनीतिशास्त्रका प्राध्यापक रमेश श्रेष्ठको मत पनि यो भन्दा खासै फरक छैन ।
पार्टीमा विधि विधान लागू हुन्थ्यो, एक अर्काको भूमिकाको कदर हुन्थ्यो भने विग्रहको स्थिति आउने नै थिएन ।
राजनीतिक दलहरुको विभाजन लोकतन्त्रका लागि शुभ संकेत भने होइन । पौडेल र श्रेष्ठको भनाईमा दल विभाजनले राजनीतिक विकृति झन बढाउने छ, मुलुकलाई अराजकतातिर धकेल्नेछ र, दलहरुप्रति जनताको वितृष्ण बढ्नेछ ।
सिद्धान्त, आदर्श र नैतिकताको राजनीति गर्ने हो र दलहरुलाई विधिविधान अनुसार चलाएर आन्तरिक लोकतन्त्र बलियो बनाउने हो भने राजनीतिक पार्टीहरुमा बिग्रहको स्थिति आउने थिएन । तर, टाउके नेताहरु चरम सत्ता स्वार्थको दलदलमा फसिरहेसम्म दलहरु टुट्फुटको रोग निरन्तर चलिरहनेमा शंका छैन ।
प्रतिक्रिया दिनुहोस्