१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनले अनुदानमा दिने खोपको दुई लाख डोज आइतबार आउँछ–परराष्ट्रमन्त्री ज्ञवाली


0
Shares

काठमाडौं, जेठ १४ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने जानकारी दिनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले गरेको अन्तरक्रियामा मन्त्री ज्ञवालीले दुई लाख डोज तिब्बतबाट आइतबार नेपाल आउने र बाँकी आठ लाख डोज भने जुुन १ तारिखसम्ममा आउने जानकारी दिनुभयो ।

‘चीनले उपलब्ध गराउने १० लाखमध्ये २ लाख पर्सी ३० तारिखमा तिब्बतबाट आउँछ । बाँकी आठ लाख डोज जुन १ सम्ममा आउँछ,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन गरी नेपाललाई खोप उपलब्ध गराउन आग्रह गरेकामा चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा नै उपलब्ध गराएको थियो ।

कोभिड–१९ विरुद्धको खोपका लागि चीन र अमेरिकासँग पहल भइरहेको भन्दै मन्त्री ज्ञवालीले १० दिनभित्रमा ब्रेक थ्रु हुने पनि बताउनुभयो ।
चीन, अमेरिका, रुस र बेलायतलाई खोपका लागि पत्राचार गरिए पनि चीन र अमेरिकासँग बढी पहल भइरहेको उहाँको भनाइ थियो ।