१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेको मिलाप बिन्दू खोज्न रातरातभर बैठकः तत्काल कार्वाही स्वीकृत नगर्ने याक एन्ड यती बैठकको निष्कर्ष


0
Shares

काठमाडौं, जेठ १८ । नेतृत्वका कारण विभाजनको बाटोमा गइसकेको नेकपा एमालेलाई जोगाउन दोस्रो तहका नेताहरू निरन्तर प्रयासमा जुटिरहेका छन् ।

यसै सिलसिलामा सोमबार पनि मध्यरातसम्म दुबै पक्षमा नेताहरु सहमतिको बिन्दू पहिल्याउन जुटेका छन् ।

काठमाडौंको होटल याक एण्ड यतिमा मध्यरातसम्म चलेको बैठकमा आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहितका नेतामाथि गरिएको कार्वाहीमा टुंगोमा नपुग्ने सहमति भएको दावी गरिएको छ ।

बैठकमा विवाद समाधान गर्न गठित कार्यदलका सदस्यसमेत रहेका नेताहरुमा अध्यक्ष केपी ओलीकातर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई रहेको बताइएको छ ।

नेपाल पक्षका नेताहरुले कुनै न कुनै रुपमा पार्टीलाई जेठ २ मा लैजानुपर्ने र त्यहीँबाट अरु निर्णय लिइनुपर्ने पक्षमा रहेको बताइएको छ ।

सहमतिको प्रयासमा जुटेका नेताहरुलाई वरिष्ठ नेता नेपालले भने अहिले सहमति गरेको जस्तो गर्ने तर कार्यान्वयन नगर्ने ओलीको शैलीका कारण विश्वास गर्न नसकिने र चुनावका समयमा आफ्नो पक्षलाई टिकटसमेत नदिने खेल हुने तर्फ सतर्क हुन भन्नुभएको छ ।

यसअघि ओलीको अध्यक्षतामा बसेको बैठकले विश्वासको मतसहितका प्रकरणमा संलग्न नेपालसहितका १२ सांसदमाथि स्पष्टीकरण सोधेपनि उनीहरुले जवाफ दिएका छैनन् ।