
काठमाडौं, जेठ २० । विश्व कोरोना महामारीले थलिएका बेला यसका अनेक रुप ‘भेरियन्ट’ को पनि चर्चा भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को हालसम्म हजारभन्दा बढी भेरियन्ट विकास भइसकेको वैज्ञानिकहरु बताउँछन् ।
यहिबेला, बेलायतको एक अनलाइन पत्रिका डेलिमेलले नेपाल भेरियन्टबारे पनि खबर छापेको छ । कुनै आधिकारिक तथ्य र प्रमाण बिना लेखिएको उक्त खबर सनसनी मच्चाउने उद्देश्यबाट प्रेरित देखिन्छ ।
नेपाल भेरियन्टबारे उल्लेख गरेपनि उक्त खबरमा त्यससम्बन्धि अनुसन्धान रिपोर्टका कुनै विषय जिकिर गरिएको छैन । बरु भारतमा देखिएको नयाँ भेरियन्टका कारण नेपालमा दोस्रो लहर चलेको भनिएको छ ।
भारतबाट नेपाल प्रवेश गरेको नयाँ भेरियन्ट B.1.167 कै कारण म्युटेन्ट भई नेपाल भेरियन्ट पनि बनेको र युरोप प्रवेश गरेको तथ्यहीन खबर उसले प्रकाशित गरेको छ ।
कोरोना महामारीले संसार त्रसित बनिरहेका बेला कुनै पनि तथ्य आधिकारिकता बिना यस्ता समाचार सम्प्रेषण गर्नु जनमानसमा आतंक सृजना गर्ने माध्यम मात्र बन्दछ ।
अनेकन सनसनीपूर्ण खबर प्रकाशित गर्ने बेलायती ट्याब्लोइड अखबार डेलीमेलले लेखेको समाचारमा नेपाली भेरियन्टको कोरोना भाइरसले बेलायतीको बिदा जोखिममा पार्न सक्ने उल्लेख गरिएको छ ।
निकै प्राथमिकताका साथ कभर स्टोरी प्रकाशित खबरमा नेपाली म्युटेन्ट स्ट्रेनले भ्याक्सिनलाई समेत प्रतिरोध गर्न सक्ने भन्दै लेखिएको छ, ‘वैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरेको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरूलाई सचेत गराएका छन् । नेपाली म्युटेन्ट स्ट्रेनले भ्याक्सिनलाई समेत प्रतिरोध गर्न सक्ने डर उनीहरुको छ ।’
नेपाली भेरियन्ट युरोपमा सबैभन्दा धेरै पोर्चुगलमा देखिएको हुनसक्ने र यसैका कारण पोर्चुगलले बेलायती सूचीको ‘ग्रीन स्टाटस’ गुमाउन सक्ने पनि भनिएको छ ।
तर बेलायती अधिकारीले भने नेपाली भेरियन्ट आए पनि धेरै चिन्ता लिन नपर्ने बताएको भन्दै अखबार लेख्छ, ‘हजारौं भेरियन्ट छन् । यो भाइरस हरेक समयमा परिवर्तन भइरहन्छ ।’
कोरोनाको नेपाल भेरियन्टबारे अन्तर्राष्ट्रियस्तरमै खबर आएका सन्दर्भमा डा अनुप सुवेदीले हामीसँग भन्नुभयो, ‘उक्त समाचार मैले पनि हेरें, यो तथ्यहीन खबर हो । यस्तो भेरियन्ट फैलिएकोबारे अनुसन्धान नगरी भन्न सकिन्न । समाचारमा त्यसबारेमा केही खुलाइएको छैन । आधार र तथ्य बिनै प्रकाशित उक्त समाचारमा ध्येय उसको चरित्र अनुसार सनसनी फेलाउने मात्र देखिन्छ ।’
नेपालमा कुने नयाँ भेरियन्ट बनेको बारेमा हामीलाई अहिलेसम्म केही जानकारी छैन भन्दै डा. सुवेदीले भारतबाट आएको भेरियन्ट बाहेक अरु कुनै नयाँ भेरियन्ट नेपालमा छैन भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्