
काठमाडौं, जेठ २३ । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ ।
जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहित बसेको बैठकले संसदीय दलको बहुमत सांसदको हस्ताक्षरसहित राउतलाई चयन गरेको हो ।
तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेश सभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेका छन् ।
केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सत्ता समिकरण फेरबदल हुने देखिएपछि यादवले राउतलाई संसदीय दलको नेतामा चयन गर्नुभएको हो ।
त्यस्तै यादवले बैठकमा संसदीय दलको विधान पनि पारित गराउनुभएको छ ।
बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरूलाई फुटाएर मन्त्रालयको संख्या समेत विस्तार गर्नेबारे पनि छलफल गरिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्