
अक्कल कुँवर
काठमाडौं, जेठ २५ । प्रतिनिधिसभा विघटनपछि जन्मिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्टिय जनमोर्चा सम्मलित विपक्षीको गठबन्धन प्रदेशसम्मै क्रियाशील छ ।
विपक्षी गठबन्धनलाई भत्काउन सत्तापक्षले हरसम्मभव प्रयास गरिरहेको छ । राजनीतिक वृत्तमा विपक्षी गठबन्धनको आयुबारे चर्चा परिचर्चा सुरु भएका छन् । राजनीति क्षेत्रका जानकारहरु पनि विपक्षी गठबन्धनको आयु सम्बन्धमा यकिन हुन सकेका छैनन् ।
प्रतिनिधिसभा विघटनसंगै मुलुकको राजनीति दुई धारमा विभाजित छ । एउटा धारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ ।
उक्त धु्रवमा जसपाका महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष, राप्रपाको कमल थापा पक्ष सम्मिलित छ ।
प्रतिनिधिसभा विघटनबिरुद्ध विपक्षी धारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको यादव तथा बावुराम भट्टराई पक्ष र राष्टिय जनमोर्चा सम्मिलित छ ।
विपक्षी गठबन्धनले प्रदेशमा पनि गठबन्धन बनाएको छ । गठबन्धनकै कारण कर्णाली प्रदेश सरकार जोगियो भने मंगलबार सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सफल भए ।
प्रदेश २ मा विपक्षी गठबन्धन पक्षीय नेताकै नेतृत्वमा सरकार रहेपनि पार्टीभित्रको आन्तरिक विवादले आउनसक्ने अविश्वासको प्रस्ताव विफल पार्न प्रयास भईरहेको छ ।
अन्य प्रदेशमा पनि ओली पक्षीय प्रदेश सरकारलाई सकेसम्म विस्थापित गरेर विपक्षी गठबन्धनबाटै प्रदेश सरकार गठन गर्ने रणनीति विपक्षीको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दामा मात्रै सिमित नराखी केन्द्रदेखि स्थानिय तहसम्मै आगामी निर्वाचनसम्म कायम राख्ने गरी विपक्षी गठबन्धनभित्र छलफल भईरहेको छ । तर, राजनीतिक विश्लेषक राजेन्द्र महर्जन विपक्षी गठबन्धनको यात्रा अहिले नै अनुमान गर्न नसकिने बताउनुहुन्छ ।
अर्को धारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धन फुटाउने प्रयास गरिरहेका छन् ।
आइतबार राती जारी गरिएको ६ बुँदे प्रस्ताव त्यसकै उपज भएको विपक्षी गठबन्धनको ठम्याई छ । हुन त मुलुकको राजनीतिमा पछिल्लो समय देखिएका दुवै धार सैद्धान्तिक भन्दा पनि सरकार बचाउने र गिराउन उत्पति भएका छन् ।
अर्का राजनीतिक विश्लेषक मिनेश घिमिरे मुलुकको राजनीति सैद्धान्तिक भन्दा पनि शक्ति केन्द्रीत सिद्धान्त उन्मुख भएको टिप्पणी गर्नुहुन्छ ।
नेपालको राजनीतिमा बेलाबखत गठबन्धन बन्ने प्रवृत्ति नयाँ भने होइन् । गठबन्धन सैद्धान्तिक आधारमा नभई पार्टीगत र व्यक्तिगत स्वार्थको लागि बन्ने गरेका छन् ।
आफ्नो अभिष्ट पुरा हुने बित्तिकै जुनसुकै किसिमका गठबन्धन छिन्नभिन्न हुने गरेको कयौ अदाहरण छन् । यसपटक पनि सैद्धान्तिक भन्दा शक्तिको लागि बनेका गठबन्धन कतिसमयसम्म टिक्लान् दिनप्रतिदिन परिर्वतन भईरहेका राजनीतिक घटनाक्रमले निर्धारण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्