
पोखरा, जेठ २८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसको जानकारी औपचारिक रुपमा संसद सचिवालयले शुक्रबार मात्र प्रदेश प्रमुखलाई जानकारी गराएको थियो ।
संसद सचिवालयको पत्र प्राप्त भएलगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधान २०७२ को धारा १६८ उपधारा ५ अनुसारको सरकार गठनका लागि २४ धण्टाको समय दिएर आह्वान गर्नु भएको हो ।
जसअनुसार शनिबार दिउँसो ३ बजेसम्म वैकल्पिक सरकारको दाबी गर्न सकिने छ ।
प्रदेश सभामा हिजो मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावका पक्षमा २७ मत परेको थियो । विपक्षमा भने ३० मत परेको थियो ।
सरकारमा मन्त्री रहेका दीपक मनाङे नै मुख्यमन्त्रीलाई भोट हाल्न गएनन् । जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापाले कतै पनि मत हालेनन् ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । कांग्रेस, माओवादी, जनमोर्चा र जसपाले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा यसअघि नै प्रस्ताव गरिसकेका छन् ।
३ सदस्य रहेको जनमोर्चा भने सरकारमा सामेल हुने छैन । दीपक मनाङेले साथ दिएमा भने गठवन्धन सरकार बन्ने पक्का छ ।
तर सरकारी पक्ष भने कुनै कागजी समस्या खडा गरेर संसद विघटनको मुडमा छ । जसरी हुन्छ यही सरकारले चुनाव गराउने गरी संसद विघटनको दाउमा सरकारी पक्ष छ ।
पहिलोपटक २०७४ फागुन ४ मा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बाले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने चाल पाएपछि वैशाख २ गते प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नु भएको थियो ।
अविश्वासको प्रस्ताव दर्तासहित विशेष अधिवेशन विपक्षीले मागेपछि वैशाख २६ मा मुुख्यमन्त्रीले राजीनामा दिनु भएको थियो ।
उहाँ वैशाख २९ मा फेरि नियुक्त हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्