६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धुन्चेदेखि टिमुरे जोड्ने सडकको दुरावस्था, स्थानीयको दैनिकीनै सास्ती


0
Shares

काठमाडौं, जेठ २८ । सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन् ।

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकीमा समेत नकारात्मक असर परेको छ ।

हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन । सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ ।

सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने, पाइएको सामान महँगो हुने, बासि सडेगलेको खाद्यान्न पुग्ने भएकोले स्थानीय जनताले दुःख पाएका छन् ।

टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको बताउनुभयो ।

यस्तै अर्का स्थानीय व्यावसायी वल बहादुर घर्ती मगरले खराब बाटोको मार सँगै कोरोना संक्रमणको जोखिमको कारणले लगाइएको निषेधाज्ञाले समेत दुःख पाएको बताउनुभयो ।

धुन्चे टिमुरे सडक खण्डको स्तरोन्नति गर्ने विषय वर्षौदेखि योजनामा परेपनि समयमै काम हुन सकिरहेको छैन ।

मुख्य शहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार, व्यवसाय पनि हुन छाडेको उनिहरुको गुनासो छ । यस्तै रसुवाका पूर्व सांसद मोहन आचार्यले सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको बताउनुभयो ।

उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिएपनि आवश्यक भौतिक पूर्वाधारको कमिले प्रयोगमा आउन नसकेको पूर्व सांसद आचार्यले बताउनुभयो ।

यो सडक पासाङल्ह्यामु राजमार्गको नामले पनि चिनिन्छ । यस सडकको ठिक तल मैलुङ स्याफ्रुबेसी सडक पर्दछ ।

मैलुङ स्याफ्रुबेसी सडक टिमुरे सम्म पुग्ने भएकोले पासाङल्ह्यामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् ।