
काठमाडौं, जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको भन्दै ‘बृहत नागरिक आन्दोलन’ र सोलिडारिटी फर डा. केसी आलाइन्सले डा. गिरीको सुरक्षाको लागि अपिल गरेका छन् ।
‘बृहत नागरिक आन्दोलन’ र सोलिडारिटी फर डा. केसी अलाइन्सले आइतबार संयुक्त विज्ञप्ति जारी गरी राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले गरेको उक्त ज्यादतिको भर्त्सना गरेका छन् ।
‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर गर्न वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारलाई गुण्डागर्दीको थलो बनाएको भन्दै नागरिक आन्दोलन र अलायन्सले आपत्तिसमेत जनाएका छन् ।
‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयंमा भर्त्सना योग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बनेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्