१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुपाल्चोकको बाढी र पहिरोमा बेपत्ता सात जनाको पहिचान खुल्यो


0
Shares

सिन्धुपाल्चोक, असार २ । सन्धुपाल्चोकको बाढी र पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ ।

बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।

अविरल बर्षापछिको बाढी–पहिरोले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ब्यापक क्षति भएको छ । बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेको छ भने बजार बगरमा परिणत भएको छ । करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ ।

उनीहरुलाई सोही स्थानमै आजको खाना खुवाइएको छ । मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् ।

मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा एक सय घरधुरी डुबानमा परेको स्थानीय जनप्रतिनिधिले जानकारी दिए ।

बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन् ।

दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् । अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् ।

खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । स्थलगत रुपमा पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित छ ।

केही घाइतेहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । आफ्नो धनमाल बगरमा परिणत भएपनि दैनिकी कसरी चलाउने भन्ने चिन्ता उनीहरुलाई छाएको छ ।

यस्तै सभामुख अग्नि सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ लगायतपनि घटनास्थलको निरीक्षणमा पुग्दै उद्दार र राहतका कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।